केही समाजसेवी र बुद्धिजीवी, साथै साविकको वाइसी बिआरवा र हालको पुनर्वास नगरपालिका वडा नं. १, पुरैनाका बासिन्दाहरूको सक्रियतामा वि.सं. २०२० मा \\\\\\\'श्री राम बुद्ध प्राइमरी स्कूल\\\\\\\' को नाममा यस विद्यालयको स्थापना भएको थियो । त्यस समयमा भौतिक अवस्था कमजोर भएकाले, ३/४ को टिनको छाप्रोमा कक्षा १ सञ्चालन गरिएको थियो । वि.सं. २०२४ पुस १ गतेदेखि विद्यालय सहयोग समितिको सक्रियतामा कक्षा १ देखि ५ सम्म पठनपाठन भएको थियो । त्यसबेला यस क्षेत्रका अभिभावकहरू आर्थिक रूपमा विपन्न भए पनि, विद्यालय शुल्क र चन्दा सङ्कलन गरी विद्यालय सञ्चालन भएको थियो । अभिभावकहरूको सक्रियतामा वि.सं. २०४७ कार्तिक १६ गते जिल्ला शिक्षा कार्यालयबाट अस्थायी स्वीकृति प्राप्त गरेको थियो ।
त्यसबेला सहयोग समितिमा सभापति स्व. प्रजापति जोशी र कोषाध्यक्ष स्व. परमानन्द पन्त हुनुहुन्थ्यो । आर्थिक कठिनाइ पार गर्दै वि.सं. २०६९ मङ्सिर १५ गते यस विद्यालयले स्थायी स्वीकृति सहित २ जना शिक्षक दरबन्दी प्राप्त गर्यो । सोही बेला श्री राम बुद्ध प्राइमरी स्कूलबाट श्री राम बुद्ध प्राथमिक विद्यालय नामाकरण गरियो । विद्यालयको प्रधानाध्यापक पदमा श्री नन्दराम पाण्डे रहनुभयो । वि.सं. २०७६ मा विद्यालय साविकको दोदा नदीको किनारबाट हाल अवस्थित स्थानमा सारियो । वि.सं. २०७८ मा विद्यालय क्षेत्रका अभिभावकहरूको सक्रियतामा ६ कोठे भवनको निर्माण गरियो । वि.सं. २०७९ मा पुनः २ जना शिक्षक दरबन्दी थप भयो । त्यसबेला सञ्चालक समितिका अध्यक्ष स्व. दुर्जन राना हुनुहुन्थ्यो ।